सांसद सरिता गिरी लक डाउनमा नै भारत जान खोज्नुको कारण

काठमाडौं, ३ असार । सीमा सम्बन्धी विषयमा विवादमा तानिएकी प्रतिनिधि सभा सदस्य सरिता गिरी भारत प्रवेश गर्न खोज्दा मंगलबार प्रहरीले रोकेको विवरण सार्वजनिक भएका छन् । सशस्त्र प्रहरीले सीमा पार हुन नदिएपछि उनी सिरहाबाट उनी काठमाडौं फर्किएको बताइएको छ । विभिन्न मिडियाहरूमा गिरीले आफू भारत जान लागेको पुष्टि गर्दै आमा बिरामी भएको ‘कारण’ खुलाएकी छन् । यति मात्र होइन उनले प्रहरीले आफूलाई अपहरण गर्न खोजेको पनि आरोप लगाएकी छन् । तर, सुरक्षा उच्च स्रोतका अनुसार सीमा सम्बन्धी विवादमा गिरीको सुरक्षा खतरालाई मध्यनजर गर्नै पर्ने अवस्था रहेको बताएका छन् । ‘संवेदनशील विषयमा उहाँमाथि सुरक्षा खतरा छ भन्ने जानकारीका आधारमा नै हामीले जानकारी दिएका हौं, सतहमा आएको व्याख्यामा कुनै आधार छैन’, एक अधिकारीले भन्छन्,‘सामाजिक सञ्जाललगायत सडकमा पनि उहाँविरुद्धका चर्का नाराबाजी, घरसम्मै भएका आक्रमणको प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन ।’ स्थल मार्ग हुँदै आमाको हेरचाहका लागि भारत जान लागेको र त्यहाँका अधिकारीलाई दूतावासमार्फत समन्वयका लागि आग्रह गरिएको गिरी आफैंले स्वीकार गरेकी छन् ।
Previous Post Next Post