कोरोना जितेर घर फर्किइन् अभिनेत्री निरिशा



मुम्बई । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।

त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।

आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना संक्रमित देखिएको उनले दुई साताअघि नै इन्स्टाग्राममार्फत बताएकी थिइन् ।

आफ्नी छोरीले कोरोनालाई जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको बुबा विश्व बस्नेतले बताएका छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको बताएका छन् ।

अभिनेत्री निरिशाले नेपाली चलचित्र ‘जानी नजानी’ मुख्य नायिकाको रूपमा गत वर्ष अभिनय गरेकी थिइन् । सो चलचित्रपछि उनले नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

पछिल्लो समय अभिनेत्री निरिशा मुम्बईमै व्यस्त छिन् । उनी त्यहाँ टेली शृंखलामा व्यस्त छिन् । केही अघि टेली शृंखला प्रेम नन्दिनीमा मुख्य भूमिका निभाएकी उनी त्यसपछि अन्य टेली चलचित्रमा नियमित प्रस्तुत हुँदै आएकी छिन् । विभिन्न डक्युमेन्ट्रीमा समेत अभिनय गरेकी निरिशा बलिउड चलचित्रका लागि संघर्ष गर्दै छिन् ।
Previous Post Next Post