नेकपाको निर्णयले नेपाल-भारत सम्बन्धमा आघात पुर्याउँ
राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सात वर्षपछि अंगिकृत वैवाहिक नागरिकता दिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्णयप्रति असहमति जनाएको छ।
नेकपाको उक्त निर्णयले नेपाल-भारत सम्बन्धमा आघात पुर्याउने राजपाको भनाइ छ। आइतबार सिंहदरबारमा नेता महन्थ ठाकुरको अध्यक्षतामा बसेको दलको बैठकले नेकपाको सचिवालयले शनिबार गरेको निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
नेकपाले शनिबार नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलाको हकमा सात वर्षपछि अंगिकृत नागरिकता दिन उपर्युक्त हुने निर्णय गरेको थियो।
‘नेकपाको सचिवालयले नेपाली नागरिकले विदेशी महिलासँग विवाह गरेमा निजले नेपालको नागरिकता प्राप्त गर्न सात वर्ष लाग्ने व्यवस्थाले निजको आर्थिक, वैयक्तिक उन्नति, सम्पत्ति प्राप्तिमाथिको अधिकार एवं अन्य अवसरहरूबाट बञ्चित हुनुपर्ने देखिन्छ,’ बैठकपछि नेता ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेकपाको उक्त निर्णयले नेपाल भारतबीच सदियौंदेखि रहेको सामाजिक, साँस्कृतिक तथा विहावारीको सम्बन्धलाई आघात पुर्याउने निश्चित रहेको राजपाको भनाइ छ।
‘भारतसँग रोटीबेटीको सम्बन्धलाई ठेस पुर्याउने र यसले दुबै देशको करोडौं नागरिक प्रभावित हुने साथै महिला महिलाबीच विभेदसमेत हुने हुँदा यो हामीलाई कदापी स्वीकार्य हुन सक्दैन,’ नेता ठाकुरले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस्तो निर्णयले हाम्रो देशको सामाजिक, साँस्कृतिक मूल्यमान्यताहरूमा खलल पुग्ने तथा सामाजिक सद्भावमा समेत आघात पुग्ने हुँदा उक्त निर्णयप्रति हामी दुखी छौं।’
राजपाले नेकपालाई निर्णय पुनर्विचार गर्नसमेत आग्रह गरेको छ।