गोरखा क्याम्पसमा बन्यो ७० बेडको आइसोलेशन



गोरखा, जिल्ला सदरमुकाममा ७० बेडको आइसोलेशन निर्माण भएको छ । ११ वटै स्थानीय तहको सामुहिक लगानीमा गोरखा क्याम्पसमा शनिवार साँझ सम्म ७० बेडको आइसोलेशन तयार भएको हो ।

‘हामीले बनाउने त सय बेड हो, अहिलेसम्म ७० वटा तयार भइसकेको छ,’ आइसोलेशन निर्माण तथा कोष व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ्गले भने, ‘धमाधम बिरामी थपिन थाले रातदिन काम गरेर ४ दिनमा ७० बेड निर्माण गरेका छौं ।’ आइसोलेशन निर्माणको प्राविधिक सहयोग शहरी आवास तथा भवन डिभिजनले गरेको भने नेपाली सेनाले पनि श्रमदान गरेको छ । जिल्ला अस्पतालमा रहेको २५ बेडको आइसोलेशन भरिएपछि थप बिरामीका राख्न गोरखा क्याम्पसमा एक सय बेडको आइसोलेशन बनाउने निर्णय भएको थियो । बिहीबार ११ र शुक्रबार ५ जना संक्रमित थपिएपछि उनीहरु राख्ने ठाउँ नहुँदा रातारात आइसोलेशन निर्माण गरिएको हो । विद्युत, खानेपानी, शौचालय, पर्दा कार्पेट, इन्टरनेट, सिसिटिभी लगायतका सुबिधा सहितको आइसोलेशन बनाइएको छ । आइसोलेशन निर्माणका लागि गोरखाका ११ वटै स्थानीय तहले ५÷५ लाख रकम उपलब्ध गराएका छन् । त्यहाँ जिल्लाका सबै स्थानीय तहले आवश्यक समन्वयमा स्वास्थ्यकर्मी पनि खटाएका छन् । स्थानीय तहले बनाएका क्वारेन्टिनमा बसेकाहरुको पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र आइसोलेशन ल्याइनेछ । जिल्ला अस्पतालमा आइसियू सहितको कोरोना अस्पताल पनि निर्माण भइसकेको छ । आइसोलेशनमा बसेकाहरुको स्वास्थ्य अबस्थामा खराबी आउने बित्तिकै आइसियुमा ल्याउन सहज होस् भनेर सदरमुकाममा आइसोलेशन बेड निर्माण गरिएको हो ।

अहिले छिमेकी मुलुक भारत र देशका विभिन्न भागबाट आएकाहरुलाई स्थानीय तहहरुले बनाएका क्वारेन्टिनमा राखिएको छ । पिसिआर परीक्षणको रिर्पोट आउन ढिलाई हुँदा संक्रमितको संख्या भने एकिन हुन सकेको छैन । जिल्ला सदरमुकाममा सय, चिकित्सकको दरबन्दी रहेका मैकसिंह, आरुघाट र जौवारी प्राथमिक स्वास्थ्य केन्द्र अनि आँपपिपल अस्पतालमा १०/१० बेडको आइसोलेशन निर्माण गर्ने तयारी पनि भइरहेको छ ।
Previous Post Next Post