गोरखा दरबार पुर्ननिर्माणका लागि मंसिर मसान्तसम्मको समय सिमा


गोरखा - गोरखा दरबार पुर्ननिर्माणका लागि दोश्रो पटक म्याद थप भएको छ । जेठ २९ गते पुर्ननिर्माण प्राधिकरणमा बसेको सचिव स्तरिय बैठकले आगामी मंसिर ३० गतेसम्मका लागि म्याद थप गरेको गोरखा दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।

‘म्याद थपको जानकारी आएको छ,’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले भने, ‘उहाँका लागि यो अन्तिम मौका हो, अब मंसिर ३० गते भित्र दरबार पुर्ननिर्माण सम्पन्न गर्नु पर्छ ।’ सार्वजानिक खरिद ऐन र नियमावली २०६४ को नियम १२० को उपनियम ४ बमोजिम आगामी मसिंर मसान्तसम्मका लागि अन्तिम पटक मौका प्रदान गरिएको उनले बताए ।

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएपछि २०७४ कार्तिकबाट दरबार पुर्ननिर्माण सुरु भएको थियो । २ वर्ष अर्थात २०७६ मंसिर मसान्तसम्म निर्माण सम्पन्न भनिए पनि सो समयमा एक तिहाई काम हुन सकेन । त्यसपछि ६ महिना अर्थात २०७७ जेठ मसान्तसम्मको समयसिमा निर्धारण भएको थियो । पहिलो पटक थप भएको समयसिमा जेठ ३० गते सकिएको थियो ।

२ वर्षकोे समय सिमा भित्र आवश्यक काम नगरेको ठेकेदार कम्पनीले लकडाउनका कारण पहिलो समय सिमा भित्र पनि काम गर्न नसकिएको दाबी गर्दै आएको छ । ‘उहाँहरुले धेरै पटक स्टमेट चेन्ज गर्नु भयो । त्यसले पहिले दुई वर्ष राम्रोसँग काम गर्न पाईएन,’ निर्माण व्यवसायी शुसिलबाबु श्रेष्ठले भने, ‘अहिले धमाधमका भइरहेको थियो ।

लकडाउनले गर्दा रोकियो ।’ कोरोनाको सन्त्रास कम भएर्रे उपयुक्त वातावरण बन्ने वित्तिकै कामले तिब्रता लिने उनले दाबी गरेका छन् ।

लकडाउन हुने हल्ला चलेपछि काम अलपत्र पारेर कामदारहरु हिडेपछि बनेको संरचना र महत्वपूर्ण सामाग्राही समेत पानीले नष्ट हुन थालेको छ । पहिलो पटकको थपिएको समयसिमा सकिदा पनि बल्ल ४० काम सकिएको गोरखा दरबार हेरचाह अड्डाले दाबी गरेको छ । २०७४ कार्तिकमा पचली शिवाको जेभीले पुरातत्व विभागसँग ४ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले हालसम्म करिब १ करोड भुक्तानी लगिसकेको भुसालले जानकारी दिए ।

शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ ।
Previous Post Next Post