१४ बर्षिया बालिकासँग बिहे हुन लाग्दा गोरखाका एक युवा मण्डपबाटै यसरी भए पक्राउ

असार २५, गोरखा । १४ बर्षीया बालिकासँग बिहे गर्न तनहुँ पुगेका गोरखाका एक युवा बिहेको मण्डपबाटै पक्राउ परेका छन् । ब्यास नगरपालिका वडा नं ११ की १४ वर्षीया बालिकासँग बिहे गर्न गएका गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको हो ।

बुधबार विवाह भइरहेको अवस्थामा बेहुला सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका  डिएसपि युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । बालविवाह गर्ने र गराउने ५ जना पक्राउ गरिएको उहाँको भनाई छ । बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितलाई समेत ५ जनालाई नियन्त्रणमा लिइएको तिमिल्सिनाले बताउनुभयो ।

विवाहका सबै काम सकेर अन्माउन लागेको अबस्थामा पक्राउ गरिएको हो । उनीहरुलाई  तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पुरा गरेको हुनुपर्ने नियम रहेको छ । २० वर्ष मूनि विवाह भएमा बदर हुने संहितामा उल्लेख गरिएको छ ।
Previous Post Next Post