२ दिन पछि सञ्चालनमा आयो गोरखा खैरेनी सडक खण्ड


गोरखा: २ दिन पछि गोरखा खैरेनी सडक सञ्चालनमा आएको छ। लगातारको बर्षा संगै आएको पहिरोका कारण रोकिएको सडक खण्ड बुधबार साँझबाट मात्र सञ्चालनमा आएको हो। सोमबार राती देखी खसेको पहिरो बुधबार साँझ पन्छाए पछि मात्र गोरखा खैरेनी सडक खण्डमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।

गोरखा खैरेनीको २४ किलोमिटर सडकखण्डमा दर्जनौ स–साना पहिरो र २ ठुलो पहिरोका साथै सडक कटान भएको थियो । कल्भटबाट पानीको निकास नपुगे पछि ११ किलो क्षेत्रको सडक खण्ड पानीले खोतलेको थियो भने ७ र ८ किलो क्षेत्रमा भिर माथिबाट आएको ठुलो पहिरोका कारण पहिरो पन्छाउन सकिएको थिएन ।

पहिरो पन्छाउनका लागि बुधबार बिहानै देखी गोरखा नगरपालिकाले मेशिन परिचालन गरे पछि भने साँझ पख देखी सवारी सुचारु भएको हो। ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार साना साना २० देखी २५ स्थानको पहिरो हटाइएको छ । बिहान ६ बजेदेखि अबरुद्ध सडकको पहिरो हटाउने काम भएको समेत कार्यालयले जनाएको छ ।

बर्षाका कारण स्याली बजारको मुखैमा ४ मिटर पिच सडक भाँसिएको छ। सडक सुचारु भए पछि साँझ देखी सबै प्रकारका सवारीहरु गोरखाबाट बाहिरीने र गोरखा आउने गरेका छन ।
Previous Post Next Post