भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

आफ्नै भान्जालाई अपहरण गरी हत्या गरेको आरोप लागेका एक जनालाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २२ खिचापोखरी बस्दै आएका ११ वर्षीय भान्जा रोहित गुप्तालाई उनकै मामा ४५ वर्षीय राजेशकुमार गुप्तासहितले अपहरण गरी २०६४ सालमा हत्या गरेका थिए। रोहितको स्थायी घर भारतको बिहार प्रान्तस्थित मुझफरपुर जिल्ला हो। भान्जाको हत्या भएको केही समयपछि फरार रहेका राजेशकुमारलाई शनिबार महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सर्लाहीको मलंगवा ८ गोरखकालीबाट पक्राउ गरेको हो। त्यसबेला भान्जा रोहितलाई अपहरण गरी उनका बाबु बासुदेव गुप्तासँग राजेशकुमार र उनका साथी धादिङका विष्णु सुनारले फोन गर्दै दुई लाख ५० हजार फिरौती रकम मागेका थिए। फिरौती रकम नपाएपछि उनीहरूले खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरी कमलादीस्थित सडकपेटीमा बोराभित्र राखेर फ्याँकिदिएका थिए। यस्तो थियो घटनाको नालीबेला भारत बिहार मुझफरपुरका ११ वर्षीय रोहित गुप्ता बाबुआमासँगै काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्थे। उनी कक्षा ७ मा पढ्दै थिए। २०६४ साल असोज २४ गते साँझ ७ बजेतिर मामा राजेशकुमार गुप्तासहितले जादु सिकाइदिने भन्दै रोहितलाई अपहरण गरे। रोहित घरबाट हराएको करिब एक घण्टापछि अपरिचित व्यक्तिले रोहितका बाबु बासुदेव गुप्तालाई फोन गरेर छोरा अपहरणमा परेको र छोड्ने भए दुई लाख ५० हजार फिरौती दिनु पर्ने भन्दै धम्क्याएका थिए। तर बासुदेवले फिरौती रकम तिर्न सकेनन्। फिरौती रकम नआउने भएपछि राजेशकुमार र उनक साथी धादिङका विष्णु सुनार मिलेर खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरे। प्रहरी अनुसन्धानका क्रममा राजेशकुमार र विष्णु सुनारले नाइलनको डोरीले घाँटीमा बाँधेर कस्दा रोहित चिच्याएका थिए। त्यसपछि राजेशकुमारले रोहितको मुखमा रूमालले थुनेर घुँडाले थिचेपछि उनको मृत्यु भएको थियो। उनीहरूले रोहितको शवलाई भरिया लगाएर खिचापोखरीबाट कमलादीस्थित गणेशथान मन्दिरनजिकै सडकपेटीमा फ्याँकिदिएका थिए। शवलाई प्लास्टिकको बोराभित्र राखेर व्यापारको खुद्रा सामान हो भन्दै सडकपेटीमा छाडिदिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। २४ गते अपहरणमा परेका रोहितको शव तीन दिनपछि २७ गते प्लास्टिकको बोराभित्र फेला परेको थियो। उक्त शव त्यही दिन रोहितको रहेको पुष्टि भएको थियो। हत्यापछि पनि दुई लाख फिरौती रोहितकुमारलगायतले भान्जाको हत्यापछि पनि दुई लाख रूपैयाँ फिरौती मागेर लगेको खुलेको छ। मृतकका बाबु बासुदेव गुप्तासँग उनीहरूले २ लाख लिएर थानकोटस्थित त्रिभुवन पार्क गएका थिए। उक्त रकम अपरिचित व्यक्तिले ट्याक्सीमा आएर लगेको भन्दै राजेशले बहाना बनाएका थिए। हत्या गर्नेले नै शव खोज्न सघाए भान्जाको हत्या गरेका राजेशले नै शव खोज्न केही दिन सघाएका थिए। मृतकका बाबु बासुदेवसँगै उनी प्रहरी कार्यालय पुगेर शव खोज्न पहल गरेझैं पनि गरेका थिए। तर उनी केही दिनमा फरार भएपछि उनीमाथि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। घटना भएको दुई महिनापछि रोहितको हत्यामा संलग्न रहेको आरोपमा धादिङका विष्णु सुनार पक्राउ परे। २०६४ साल मंसिर २६ गते पक्राउ परेका सुनार त्यसबेलादेखि नै कारागारमा छन्। उनले हत्यामा राजेश पनि संलग्न रहेको बताएका थिए। त्यतिन्जेल उनी भागेर भारत पुगिसकेका थिए। महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले पक्राउ परेका राजेशकुमारलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। सभार: सेतोपाटी
Previous Post Next Post