कोरोना संक्रमितको संख्या घट्न थाल्यो, गोरखा अस्पतालको आइसोलेशनमा जम्मा तीनजना मात्र


गोरखा - दुईसाताअघि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा २४ घण्टाको अवधिमा नेपालमा नौसय जनाभन्दा धेरै कोरोना संक्रमित भएको घोषणा गथ्र्यो । शनिबारसम्म आइपुग्दा २४ घण्टाभरि पिसिआर रिपोर्ट पोजेटिभ आउनेको ७० जना मात्र भेटिए ।

कुनै बेला गोरखा अस्पतालको आइसोलेशनको २४ वटै बेड भरिएपछि गोरखा क्याम्पसमा आइसोलेशन बनाउनु परेको थियो । अहिले त्यहाँ जम्मा तीन जना मात्र रहेको सूचना अधिकारी कृष्ण ढकाल बताउँछन् । दुईहप्तादेखि अस्पतालको आइसोलेशनमा संक्रमित नथपिएको उनले बताए ।

त्यस्तै गोरखा क्याम्पसको आइसोलेशनमा पनि संक्रमितको संख्या दिनहूँ घट्दै छ । ‘कुनै बेला गोरखा क्याम्पसको आसोलेशनमा ४७ जनासम्म थिए’, त्यहाँका सूचना अधिकारी निश्चल अर्याल भन्छन्, ‘तर अहिले घटेर ३३ जना भएको छ । अब भरेभोलिमा नै १५ जनाजति डिस्चार्ज हुने सम्भावना छ ।’

गोरखामा कोरोनाबाट संक्रमितको संख्या ९९ पुगेकोमा अहिले ५९ जना उपचारपछि घर फर्केका छन् । अहिले जम्मा ३८ जना मात्र उपचार गराइरहेका जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।

यसअघि दैनिक पाँच, छ जना संक्रमितहरु थपिने गरेको गोरखामा अहिले फाट्टफुट्ट एक, दुई जना थपिने गरेका गोरखा क्याम्पस आइसोलेशनका सूचना अधिकारी अर्याल बताउँछन् ।

गोरखामा पिसिआर पोजेटिभ आउनेको संख्या बास्तवमै घटेको गोरखा अस्पतालका सूचना अधिकारी ढकाल बताउँछन् । ‘विदेशबाट आउनेको संख्या पनि घट्यो । त्यही भएर पनि हुनसक्छ संक्रमितको संख्या घटेको छ’, ढकालले भने, ‘संक्रमितमध्य पनि मर्नेको संख्या ज्यादै नै नगण्य छ ।’ १६ हजार सातसय १९ जना संक्रमितमध्य अहिलेसम्म नेपालमा कोरोनबाट मर्नेको संख्या ३८ पुगेको छ । गोरखामा दुई जना मात्र कोरोनाबाट मरेका छन् ।
Previous Post Next Post