निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीले पाए सफाइ


काठमाडौं, १५ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा मुछिएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जा प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

घटनाको वास्तविक प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुलाई जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको हो ।

ति प्रहरी अधिकारीहरुविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीहरुलाई सफाइ दिएको बताइएको छ ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो । सफाइ पाएसँगै तत्कालिन अवस्थामा निलम्बनमा परेका प्रहरी अधिकारीहरुलाई काममा फर्किन बाटो समेत खुलेको छ ।

घटना भएको दुई वर्ष वितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्दा बालिकाको परिवारले न्याय पाउन सकेका भने छैनन् ।
Previous Post Next Post