गोरखामा कोरोना संक्रमणको जोखिम घटेको हो ?

गोरखा । गत चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेसँगै गोरखा जिल्लाका स्थानीय तहहरु क्वारेन्टिनस्थल निर्माणमा जुटे । अधिकांशले विद्यालय भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने निर्णय गरे र व्यवस्थापनमा लागे । जिल्ला भित्रिने सबैलाई अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय भयो । कोरोना संक्रमितको उपचारका लागि भन्दै गोरखा अस्पतालमा २४ बेड क्षमताको आइसोलेसन वार्ड पनि तयार गरियो । शुरुका दिनहरुमा खाली रहेका क्वारेन्टिनहरु भारतबाट जिल्लाबासीहरु फर्कने क्रम बढेसँगै भरिन थाले । पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन हुन थाल्यो । रिपोर्ट आउने क्रम शुरु भयो ।

पहिलो पटक गत जेठ २५ गते जिल्लामा एकै चोटी १० जनामा कोरोना संक्रमण देखियो । गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलियो । जेठ २८ गते चार जना संक्रमित थपिए । उनीहरु सबै भीमसेन थापा गाउँपालिकाका थिए । असार २ गते थप १० जनामा कोरोना संक्रमण देखियो । असार ४ गते फेरि ११ जनामा संक्रमण पुष्टि भयो ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गयो । असार ५ गते ५ जना र ८ गते थप ११ जनामा संक्रमण पुष्टि भयो । सबैभन्दा धेरै असार ९ गते एकैपटक १८ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लावासी त्रसित बने । हिरासतमा रहेका एक पुरुष र भीमसेन थापा गाउँपालिकामा समुदाय स्तरमा देखिएको कोरोनाका कारण जिल्लावासी थप सशंकित भए । समुदाय स्तरमा कोरोना देखिएपछि केही वडाहरु सिल समेत गरियो । कन्ट्याक्ट ट्रेसिङमार्फत् पीसीआर परीक्षणको दायरा बढाइयो । समुदाय स्तरमा कोरोना फैलनुमा स्वास्थ्य कार्यालय र कर्मचारीको लापरवाही प्रष्ट देखियो ।

असार पहिलो हप्तासम्म संक्रमित थपिने दर बढ्दै गयो । त्यही दरमा संक्रमित बढ्दै गए उपचारका लागि जिल्लामा रहेका आइसोलेसन वार्डले धान्नेवाला थिएनन् । तर असार १५ पश्चात जिल्लामा संक्रमणको दर घट्न थाल्यो । फाट्टफुट्ट मात्र संक्रमित थपिन थाले ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या १०० पुगेको छ । जसमध्ये ८५ जना उपचारपश्चात निको भएर घर फर्र्किएका छन् । संक्रमित दुई जनाको ज्यान गएको छ भने १३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

४०१ जनाको पीसीआर परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार हालसम्म २ हजार ८० जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीहरुमध्ये १६ सय ८९ जनाको रिपोर्ट आइसकेको उनले बताए ।
Previous Post Next Post