दोबाटोमा प्रधानमन्त्री : राजीनामा दिने कि अडिने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्‍यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’

बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस गरे ।

आखिर स्थायी कमिटीको बैठक जारी रहेकै बेला सीमित नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले सहयोगको याचना गर्नुको कारण के थियो ? आफ्नो गुटका नेताहरुबाट प्रधानमन्त्रीले कस्तो सहयोग चाहेका थिए ?

सहजै बुझ्न सकिन्छ कि स्थायी कमिटीको बैठकमा अधिकांश नेताहरुबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भइसकेको छ । यही कारणले गर्दा प्रधानमन्त्रीले स्थायी कमिटीभित्र आफ्नो ‘पोजिसन’ स्पष्ट पार्न खोजेको देखिन्छ । तर, बुधबार बेलुका झम्सिखेलमा ३० जना नेताहरुको जमघट भयो, जसले प्रधानमन्त्रीलाई थप दबावमा पार्‍यो ।

विहीबार बिहानै प्रचण्डनिवास खुमलटारमा केपी ओली पक्षका नेताहरु पुगे । उनीहरुले ओली र प्रचण्डलाई आपसमा मिल्न र पार्टी एकतालाई जोगाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

लगत्तै बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाए । शीतलनिवासमा राष्ट्रपतिसँग भेटेर बालुवाटार फर्केका ओलीले संसदको अधिवेशन अन्त्य गर्ने प्रस्ताव पारित गराए ।

लगत्तै नेकपाको स्थायी कमिटीको बैठक केहीबेर बसेर स्थगित भयो । र, अब प्रधानमन्त्रीले अध्यादेश ल्याएर संकटकाल पो लगाउँछन् कि भन्नेसम्मका अडकलबाजी भइरहेका छन् । नेकपाभित्रको विवाद बालुवाटारमा छताछुल्ल बनेको छ ।

तर, के अब प्रचण्ड र माधव नेपाल पक्ष मिलेर केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउलान् त ? वा ओलीले दुईमध्ये एक पद छाड्लान् ? वा ओलीले अडान कायमै राख्लान् ? अनि यो अन्तरविरोध चर्कंदै गएर पार्टी नै पो फुट्ने हो कि ? नेकपाको सन्दर्भमा उब्जिएका ज्वलन्त प्रश्नहरु यिनै हुन् ।

भारतले आफूलाई हटाउन लाग्यो भन्ने प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्ति र त्यसलगत्तै उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्न प्रचण्ड–माधव समूहका नेताहरुको दबावका कारण अहिले देशमा कोरोनाभन्दा नेकपाको चर्चा बढी हुन थालेको छ ।

मंगलबार नेकपा स्थायी कमिटी बैठकको दृश्यले प्रधानमन्त्री ओलीमात्र होइन, नेकपा नै ठूलो संकटमा पुगिसकेको संकेत नेताहरुले पाएका थिए । घनश्याम भुसालकै शब्द सापटी लिने हो भने ‘नेकपारुपी जहाज महाभूमरीमा हेलिने सम्भावना नजिकिएको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउने प्रयास नेकपाभित्र वैशाख १७ गते नै भएको हो । त्यसबेला बामदेवको साथ लिएर संकट टारेका प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकसम्म आइपुग्दा झन् ठूलो संकटमा परेका छन् ।

हरेक संकटलाई एउटा न एउटा फण्डा ल्याएर भए पनि टार्ने गरेका ओलीले यसपटक आफूलाई दुवै पदबाट हटाउने प्रयास कसरी पार लगाउलान् ? उनीमाथि तेर्सिएको अहम सवाल यही हो ।

पार्टीभित्रको अन्तरविरोध चर्किँदै जाँदा यसको समाधान कसरी होला भन्नेमा नेकपाका नेताहरु ठूलो अन्योलमा देखिन्छन् । प्रचण्डले आलोपालो प्रधानमन्त्री छाडेर गल्ती भएछ भनिसकेका छन् । यसको अर्थ अब उनी आलोपालोमै फर्किन चाहन्छन् ।

केही नेताहरुले सुझाएको मेलमिलापको प्रस्ताव सफल भएन भने अब प्रधानमन्त्री ओलीसँग पद जोगाउनका लागि सीमित विकल्प मात्र बाँकी रहनेछन् । र, ती कुनै पनि विकल्पहरु जोखिममुक्त छैनन् ।

अब के हुन्छ र प्रधानमन्त्री ओलीले के सोचिरहेका छन् ? यो प्रश्नको जवाफ प्रधानमन्त्रीकै निकटस्थहरुसँग पनि छैन ।</div>

Previous Post Next Post