भैसीँ चराउन गएकी बेपत्ता बालिकाको करणीपछि हत्या आशंका, एक पक्राउ


काठमाडौँ, १९ असार । भैसीँ चराउन जाँदा २ दिनदेखि बेपत्ता भएकी धनुषाकी एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् ।

शुक्रबार विहान जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थास्थित दुधमति नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियार मृतावस्थामा फेला परेकी हुन् ।

बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने शंका गरिएको छ ।

दुई दिनअघि भैसीँ चराउन गएर अबेरसम्म घर नफर्किएपछि अस्थायी प्रहरी चौकीमा परिवारले निवेदन दिएका थिए । सुरुमा धान रोप्न गएका किसानहरुले बालिकाको शव देखेका थिए ।

घटनामा संलग्नको आशंका प्रहरीले अनुसन्धानका क्रममा एकजना अघोरी बाबा हुँ भन्दै हिड्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । छोरीको विभत्स घटनापछि बालिकाकी आमा र बुवा शोकमा छन् ।

बालिकाको छोरी खोजी गर्ने क्रममा अघोरी बाबाको कुटीमा ओत लाग्न जाँदा भित्र पस्न नदिएको र अघोरीको गतिविधि शंकास्पद देखिएको भन्दै उनले नै छोरीको बलात्कारपछि हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ ।

त्यस्तै, बालिकाको शवमा रगताम्य भएकोले मादक पदार्थ सेवन गर्नेले पनि त्यस्तो घटना घटाएको आशंका स्थानीयले गरेका छन् । अघोरी बाबाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Previous Post Next Post