बिधुत प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिन माग


काठमाडौं, बिहिबार, ४ भाद्र २०७७ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन व्यापक जनमत बनेको छ ।
नेपालमा १८ घण्टासम्म लोडसेडिङको अन्त्य गर्दै अरवौं नाफामा प्राधिकरणलाई पुर्याउन सक्षम कार्यकारी निर्देशक घिसिङलाई काम गर्न दिन माग बढेको हो । उनको कार्यकाल सकिँदै गर्दा उनलाई प्राधिकरणको व्यवस्थापकीय जिम्मेवारी थप गर्न जनदवाव बढेको हो ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।
‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो । सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’
कुलमानको ४ वर्षे कार्यकाल यही भाद्र २९ गते सकिँदैछ ।
Previous Post Next Post