कोरोना भाइरसका कारण एकै दिनमा ११ जनाको मृत्यु


काठमाडौँ, बुधबार, १० भाद्र २०७७ । गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो । अहिलेसम्म नेपालमा १ सय ७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
विगत २४ घण्टामा थप ८८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कुल सङ्क्रमित सङ्ख्या ३४,४१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधवार थपिएका सङ्क्रमितमध्ये काठमाण्डू जिल्लाका २३० जना सहित ३०१ जना काठमाण्डू उपत्यकाका छन् ।
साथै, यो अवधिमा ३८५ जना सङ्क्रमणमुक्त भएपछि कोभिड-१९ बाट निको हुनेको कुल सङ्ख्या १९,५०४ पुगेको छ।
हालसम्म ६,३५,२५२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिले देशभरि १४,७३९ जनामा सक्रिय सङ्क्रमण रहेको उनले बताए ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन् ।
देशभरि क्वारन्टीनमा ९,८३२ जना छन् । गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो ।
त्यसैगरी, भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो ।
यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
Previous Post Next Post