नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा तीनवटा मजदुर संघको संयुक्त कार्यदलले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
सरकारले भदौ ३२ गतेसम्म अन्तर जिल्ला यातायात सञ्चालनमा रोक लगाएको छ । ६ महिनादेखि गाडी बन्द गरेर राख्दा पनि सरकारले वास्ता नगरेको र अब गाडी थन्क्याएर राख्न नसक्ने भन्दै उनीहरूले मन्त्री नेम्वाङलाई ध्यानाकार्षण गराएका छन् ।
व्यवसायीले असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्न, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन गर्न, सवारीको आयु तोकेर दर्ता तथा नवीकरण रोक्ने निर्णय खारेज गर्न पनि माग गरेका छन् ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भन्नुभयो, ‘अहिलेसम्म आफूहरूले सरकारको निर्णय मान्दै आएको तर यत्तिका दिनसम्म पनि सरकारले आफूहरूलाई नगरेकाले अब त्यसै बस्सकिँदैन ।’
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार (२५ गते) देखि २६ सिटभन्दा माथिका बस चलाउन दिने गरी गरेको निर्णय अव्यावहारिक भएको उनीहरूको जिकिर छ । त्यस्तै, विदेशबाट आएर होल्डिङ सेन्टरमा राखिएकाहरूलाई उनीहरूको गृहजिल्ला पु¥याउने क्रममा सीमित व्यवसायीले अनुचित भाडा लिएको विषयमा समेत छानविन गर्न उनीहरूले माग गरेका छन् ।
जवाफमा मन्त्री नेम्वाङले व्यवसायीहरूको मागलाई जायज भएको बताउनुभएको छ । व्यक्तिगत रूपमा आफू पनि गाडी चलाउन दिनुपर्छ भन्नेमा रहेको बताउनु हुँदै उहाँ भन्नुहुन्छ, ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अरू निकाय पनि छन् । तर, म तपाईंहरूको कुरा प्रधानमन्त्रीसम्म पु¥याउँछु ।’