नारायणहिटीको श्रीसदन सर्वसाधारणका लागि खुल्ला


 काठमाडौँ, शनिबार, ६ मङ्सिर २०७७ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला गर्न लागिएको छ ।

तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा तयार गर्न लगाउनुभएको सो भवन २०२३ सालमा निर्माण गरिएको थियो । युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार श्रीसदन निर्माणपछि राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट सर्नुभएको थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने जानकारी दिँदै भन्नुभयो, “अब सबैको प्रतीक्षा सकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउनेछन् । ”

तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी सुरु भएलगत्तै नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै सङ्ग्रहालय पुनः खुला गरिँदै छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ ।

Previous Post Next Post