गोरखा, वैशाख २८ गते ।
बारपाक सुलिकोट गाउँपालिका वडा नं. ०७ को आयोजनामा “प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३” सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार र आइतबार २ दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा ब्यटमिन्टनका प्रदेश, जिल्ला तथा स्थानीय स्तरका चर्चित खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताको सिनियरतर्फ रमेश श्रेष्ठ र विनोद श्रेष्ठको जोडी प्रथम, निक्स श्रेष्ठ र सन्तोष राज वज्राचार्य द्वितीय तथा प्रकाश चन्द्र श्रेष्ठ/भोला प्रसाद सुनार र कुमार शर्मा/राम कुमार चौधरी तृतीय भएका छन्।
त्यसैगरी जुनियरतर्फ तेजनाथ पाठक र शितल थापा प्रथम, सन्देश गुरुङ र चन्द्र बहादुर गुरुङ द्वितीय तथा प्रदिप विश्वकर्मा र दिपेश सुनार तृतीय स्थानमा रहेका छन्। सान्त्वना स्थान दपेश श्रेष्ठ/सन्जित वराम र प्रदिप सुनार/रुपेश सुनारले हासिल गरेका छन्।
कार्यक्रमका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, कर्मचारी तथा जग्गादातासहित १८ जना व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। सम्मानित व्यक्तिहरूमा वडाभित्रका विद्यालयका शिक्षक, उत्कृष्ट विद्यार्थी, अभिभावक तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू समावेश रहेका छन्।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले गर्दै वडा नं. ७ ले शिक्षा तथा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। उनले यस्ता कार्यक्रमले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान तथा सामाजिक एकता मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
11 May 2026