गोरखाबाट उठ्यो आदिवासी जनजातिको सशक्त आवाज : ‘अधिकार अझै अधुरो छ’

Nar Bahadur Gurung
गोरखा ।

३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, गोरखाको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि आदिवासी जनजातिको आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बताएका छन्।
‘पहिचान, अधिकार र आत्मसम्मानका लागि एकता’को सन्देशसहित सम्पन्न कार्यक्रममा गोरखाका विभिन्न आदिवासी जनजाति समुदाय, जातीय संस्था, सामाजिक संघसंस्था तथा अधिकारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व तथा सामाजिक न्यायजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए पनि नेपालको विविध राष्ट्रियताको पूर्ण सम्बोधन हुन नसकेको बताए।

सामाजिक तथा सांस्कृतिक विभेद अझै कायम रहेको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिको संरक्षणसँगै बाँकी अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए। आदिवासी अधिकारकर्मीसमेत रहेका रानाले राष्ट्रिय पहिचानको आधारमा स्वायत्त राज्यको माग आदिवासी जनजाति आन्दोलनको महत्वपूर्ण सवाल भएको भन्दै त्यसतर्फ थप संगठित भएर अघि बढ्नुपर्ने धारणा राखे।

अधिकार नपाएसम्म आन्दोलन आवश्यक छ’

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष एवं आदिवासी अभियन्ता नरबहादुर गुरुङले पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक प्रतिनिधित्व प्राप्त नभएसम्म आदिवासी जनजातिको आन्दोलन आवश्यक रहेको बताए।

उनले विश्व आदिवासी दिवसमा आफू कुनै औपचारिक अतिथिको भूमिकामा मात्र नभई ‘आदिवासीको सन्तान भएर आफ्नो समुदायको एकता देखाउन’ सहभागी भएको बताए।

“हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्नुपर्छ। तर प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्ने अवस्था छैन। पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि हाम्रो आवाज अझ बलियो बनाउनुपर्छ,” गुरुङले भने।

उनले अधिकार प्राप्तिको आन्दोलनलाई कुनै एक जाति वा समुदायको मात्र आन्दोलन नभई सबै आदिवासी जनजातिको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

‘आदिवासीलाई उद्यमी बनाऔँ, समृद्धि आफैँ आउँछ’

उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले आदिवासी जनजाति समुदायलाई आर्थिक रूपमा सबल बनाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताए।
उनले परम्परागत सीप, संस्कृति, स्थानीय उत्पादन र स्रोतलाई आधुनिक उद्यमसँग जोड्न सके आदिवासी जनजाति समुदायको आर्थिक अवस्था सुधार हुनुका साथै समग्र जिल्लाको समृद्धिमा योगदान पुग्ने बताए।
संस्कृति संरक्षणसँगै अधिकारको आवाज
कार्यक्रममा गुरुङ, नेवारलगायत विभिन्न आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। परम्परागत पोसाक, बाजागाजा, गीत तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा सहभागीहरूले संस्कृति संरक्षण मात्र होइन, संस्कृति र पहिचानसँग जोडिएका अधिकारको सुनिश्चितता पनि आवश्यक रहेको बताएका थिए।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न जातीय संघसंस्था तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिका समसामयिक सवाल, अधिकार, पहिचान, प्रतिनिधित्व र सामाजिक न्यायका विषयमा धारणा राखेका थिए।
सयौँको सहभागिता रहेको कार्यक्रमले गोरखाबाट ‘आदिवासी जनजातिको अधिकार, पहिचान र एकताका लागि साझा आवाज’को सन्देश दिएको आयोजकले जनाएको छ।

गोरखाबाट उठेको मुख्य प्रश्न

संघीयता आयो, गणतन्त्र आयो, समावेशिताको कुरा आयो। तर आदिवासी जनजातिले उठाउँदै आएका पहिचान, प्रतिनिधित्व, स्वायत्तता र समान अधिकारका सवाल कति सम्बोधन भए?
३२औँ विश्व आदिवासी दिवसले गोरखाबाट यही प्रश्न फेरि राष्ट्रिय बहसमा ल्याएको छ—
‘उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार कहिले सुनिश्चित हुन्छ?’

प्रतिक्रिया