प्रदेश अस्पताल गोरखाको अध्यक्षमा ढकाल र आपपिपलमा पाठक नियुक्त

Gorkha Dev

प्रदेश अस्पताल गोरखा र आँपपिपलले नयाँ व्यवस्थापन समिति पाएको छ । गण्डकी प्रदेश सरकारको यही माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश स्तरीय अस्पतालमा कांग्रेस र एमालले भागवन्डा गरेर अध्यक्ष र २ जना सदस्य नियुक्त गरेको हो ।
प्रदेश अस्पताल गोरखामा कांग्रेसका तर्फबाट कृष्ण ढकाल अध्यक्षमा नियुक्त भएका छन् । सदस्यहरुमा महिलातर्फ कांग्रेसकी बिद्या मास्के र खुलातर्फ एमालेका सानुकाजी वन्त नियुक्त भएका छन् ।

प्रदेश अस्पताल आँपपिपलमा एमालेकी पार्वतीदेवी पाठक अध्यक्षमा नियुक्त भएकी छन् । महिला सदस्यमा कांग्रेसकी प्रमिला राना मगर गुरुङ र खुला सदस्यमा कांग्रेसका रविन्द्र देवकोटा नियुक्त भएका छन् । गत भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ गठनादेश जारी गर्ने निर्णय गर्दै यसअघिको अस्पताल व्यवस्थापन समिति खारेज गरेको थियो । नयाँ गठनादेश ल्याएर भागवन्डा गरी प्रदेश मातहतका सबै अस्पतालको अध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।

सम्बन्धित जिल्लाका स्थानीयवासी रहेका स्नातक पास गरेका व्यक्तिहरूबाट अध्यक्ष नियुक्त गर्ने कार्यविधिमा छ । नयाँ गठनादेशअनुसार १०० र ५० शैयाको अस्पतालमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ भने सबै अस्पतालको अध्यक्ष हुन सम्बन्धित जिल्लाकै स्थायी वासिन्दा हुनुपर्ने छ । २५ शैयासम्मका अस्पतालमा भने शैक्षिक योग्यता तोकिएको छैन । १०० र ५० शैयाका अस्पताल व्यवस्थापन सदस्य हुनका लागि प्लस टु वा प्रवीणता तहको हुनुपर्ने व्यवस्था छ । अस्पतालमा ९ सदस्यीय व्यवस्थापन समिति हुने कार्यविधि छ ।

१०० र ५० शैयाका हकमा स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिका सदस्य, कम्तीमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनित गरेको एक महिलासहित दुई जना, जिल्ला प्रशासन, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनित गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सकबाट एक जना, अस्पतालको नर्सिङ प्रमुख र सदस्य सचिवमा मेडिकल सुपरिन्टेन्डेन्ट रहने छन् । २५ शैयाको अस्पतालमा ७ सदस्यीय समिति रहने छन् ।

यसअघि सरकारले भागबन्डामा तोकिएका अध्यक्षको कार्यकाल सकिएसँगै जिल्ला समन्वय समितिको प्रमुख अध्यक्ष रहने व्यवस्था गरिएको थियो । यो व्यवस्थालाई खारेज गर्दै सरकारले नयाँ गठनादेश ल्याएर समितिको अध्यक्ष भागबन्डामा नियुक्त गरेको हो । अस्पतालका अध्यक्ष तथा सदस्यहरूले बैठक भत्ता पाउने गरी व्यवस्था गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया